Matra Education आइतबार, साउन १० २०८३

पैसा चोरेर भागेका ऋषि धमलालाई हेडमास्टरले भेटेपछि 

पैसा चोरेर भागेका ऋषि धमलालाई हेडमास्टरले भेटेपछि 

  • रमेश लामिछाने
  • बुधबार, मंसिर १ २०७८


(यो सामग्री मात्र एजुकेसनको विशेष प्रस्तुति “फर्केर हेर्दा विद्यार्थी जीवनको भाग ५” मा गरिएको अन्तर्वार्तामा आधारित छ )

काठमाडौँ –   ऋषि धमला आज नेपाली पत्रकारिताको क्षेत्रमा स्थापित नाम हो। रिपोर्टर्स क्लबका अध्यक्ष, प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा अन्य एफएम तथा टेलिभिजनका समेत सञ्चालक उनले पत्रकारिताका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्।  बेला बेला विभिन्न क्रियाकलाप गरेर चर्चामा आइरहने उनी नेपाली पत्रकारितामा मेहनतको पर्याय समेत बनेका छन्।  दैनिक १८ घण्टासम्म काम गर्ने उनी १४ वर्षकै उमेरमा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको अन्तर्वार्ता गरेर चर्चामा आएका थिए। आफूले १० वर्षकै उमेरमा पत्रकारिता सुरु गरेको बताउने धमलाको सङ्घर्षका दिनहरू अति रोचक र उत्प्रेरणादायी छन्।  मात्र एजुकेसनको विशेष प्रस्तुति फर्केर हेर्दा विद्यार्थी जीवनको भाग ५ मा उनले आफ्ना यी सङ्घर्षका दिनहरू बारे बोलेका छन्।

तिनै ऋषि धमला १० वर्षको हुँदा घरबाट पैसा चोरेर काठमाडौँ भागेर आएका थिए। त्यतिबेला उनकी आमा बितिसकेकी थिइन् भने उनी आफ्ना बुबा सँग बस्दै आएका थिए।  सानैदेखि टाठो र चलाख स्वभावका उनलाई पढ्ने ठुलो धोको थियो।  उनको गाउँमा प्राथमिक तहको स्कुल मात्रै थियो र उनले यति बेलासम्म त्यो तह पार गरिसकेका थिए। बुबा घरमा एक्लै भएको हुँदा उनलाई आफूसँगे राख्न चाहन्थे।  उनी भने जसरी पनि भागेर काठमाडौँ आउने र आफ्नो पढाइ पुरा गर्ने मौकाको खोजीमा थिए।  एक दिन उनका बुबा गाई वस्तु चराउन जङ्गल गएका बेला त्यो मौका उनले पाए। काठमाडौँ भाग्ने योजना बनाएका धमलालाई आवश्यकता थियो पैसाको।  उनले तत्कालै आफ्नो बुबाको कन्तुर खोले।  त्यहाँ जम्मा ८००/९०० पैसा भेटे। त्यो पैसा मध्ये ४०० रुपैयाँ आफ्नो खल्तीमा राखेर बाँकी पैसा त्यहीँ बुबालाई छोडेर उनी त्यहाँबाट भागे।

गाउँबाट भागेर उनी जसो तसो सदरमुकाम धादिङ बेसी आइपुगे।  त्यतिबेला त्यहाँ भर्खरै खनेको बाटो थियो।  यातायातका साधनका नाममा ट्र्याक्टर बाहेक केही चल्दैनथे। उनी काठमाडौँको यात्राका लागि ट्र्याक्टर चढे। ठुलो आवाज सहित चलिरहेको ट्याक्टरमा केही पर पुगेपछि उनलाई कसैले बोलाएजस्तो लाग्यो। त्यो परिचित आवाजले कता हिँडेको दुर्गाप्रसाद भनेर सोधिरहेको थियो (दुर्गाप्रसाद उनको गाउँमा बोलाउने नाम हो)। यसो पछाडि फर्केर हेर्दा ट्याक्टरमा उनकै विद्यालयका हेडमास्टर बसेका थिए। अनुहार निलो कालो बनाउँदै उनले आफू भागेर काठमाडौँ जान लागेको बताए। तर हेडमास्टरले उनले सोचेको जस्तो केही गरेनन्। तिम्रो बुबा अब रुने भए भनेर सम्झाए मात्रै।

ट्याक्टरमा मलेखु सम्म आइपुगेका धमलालाई अब भने फसाद पर्‍यो।  त्यतिबेला पक्की  पुल बनेको थिएन। त्रिशूली नदी तर्नका लागि झोलुङ्गे पुल मात्रै बनेको हुँदा अब गाडी कहाँबाट चढ्ने र कता जाने उनलाई दुबिधा भयो।  भोकाएका धमलाले त्यहाँ सुन्तला किनेर खाएपछि गाडी चढ्ने ठाउँ थाहा पाए।  १० वर्षीय यी बालकले एउटा ट्रक काठमाडौँ  जाँदै छ भन्ने थाहा पाएपछि त्यसैमा चढे। क्रमशः 

(ऋषि धमलाले सडकमा काटेको रात र पत्रकारिताका लागि गरेको सङ्घर्ष बारे थप लेख केही दिनमा प्रकाशित हुनेछ तपाईँ यो लिङ्कमा क्लिक गरेर  पुरा भिडियो पनि हेर्न सक्नुहुनेछ)

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड