काठमाडौँ- चाबहिलको टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार गौशालाको अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रमका बिच टेक्ससले बिबिएस प्रथम वर्ष तथा बिएसडब्लु प्रथम वर्षलाई स्वागत गरेको हो । त्यस्तै टेक्सस बाट आफ्नो अध्ययन पूरा गरेका बिबिएस चौथो वर्ष र बिएसडब्लु तेस्रो वर्षका विद्यार्थीलाई बिदाइ पनि उक्त कार्यक्रम मार्फत गरिएको छ । कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र स्वागत बिदाइ सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रमुख तथा प्रिन्सिपल भेष राज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकि डिन कुसुम शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा टेक्ससका प्राध्यापक, विद्यार्थीका अलावा अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमको बारे जानकारी गराए । विद्यार्थीको सफलता र सारथि बन्नका लागि टेक्सस टिम सधैँ तत्पर रहेको भन्दै प्रमाणपत्र मात्रै दिने भन्दा पनि सीप र क्षमता विकास गरेर बजारको आवश्यकता सुहाउँदो जनशक्ति उत्पादन गर्नमा टेक्सस केन्द्रित रहेको उनको भनाइ थियो। झमक कुमारी घिमिरे, रमेश प्रसाईँ जस्ता फरक क्षमता भएर पनि सफल भएका व्यक्तिहरूको उदाहरण दिँदै उनले अनुशासित भन्दा बढी जिम्मेवार हुन आफ्ना विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कार्यक्रम मार्फत स्वागत बिदाइ मात्रै गर्ने भन्दा पनि विद्यार्थीको भावी जीवनका लागि केही महत्वपूर्ण खुराक पनि दिने प्रयास रहेको बताए । त्यस्तै टेक्ससले हलबाट मात्र आफ्ना विद्यार्थीलाई बिदाइ गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै धन्यवाद दिइन् । आउने र जाने मानव जीवनको प्राकृतिक पाटो भएकाले विश्वविधायलयका तर्फबाट समेत नव आगन्तुकलाई उनले स्वागत गरिन् । आफ्नो कोर्स पूरा गरेर बिदाइ हुँदै गरेका विद्यार्थीलाई जीवनको परीक्षा सुरु हुन लागेकाले त्यसका लागि समेत तयार रहन उनको सुझाव थियो । स्नातकमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नै ३१ विषय रहेको भन्दै उनले ती सबै सङ्काय एक दिन कलेजमा आउने विश्वास व्यक्त गरिन् । भर्ना भएका सबै विद्यार्थी लाई दीक्षित भएको देख्ने आफ्नो चाहना रहेकाले ड्रप आउट नगर्न विद्यार्थीलाई उनको सुझाव थियो । आफूलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरिरहेको कलेजको नाम भने बारम्बार बिर्सेर उनले टाइम्स कलेजलाई सम्बोधन गर्न पुगिन् ।

कार्यक्रमका अध्यक्ष पोखरेलले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना विद्यार्थीलाई आगामी जीवनका लागि शुभकामना दिए । आफूहरूले बिदाइ हुँदै गरेका विद्यार्थीलाई राम्रै गर्न सक्यौँ होला भन्ने लागेकाले उनीहरूको आगामी भविष्य पनि राम्रो हुने उनको भनाइ थियो ।
मात्र एजुकेसनले टेक्ससबाट अध्ययन गरेका विद्यार्थीको समेत भनाइ बुझ्ने प्रयास गरेको थियो । टेक्ससमा बिएसडब्लु तेस्रो वर्ष अध्ययनरत सम्झना चौलागाईंले आफू कलेजमा छिरेको पहिलो दिन देखि आजसम्म टेक्ससले आफ्ना सबै अपेक्षाहरू पूरा गरेको बताइन् । फेयरवेल पछि पनि कलेजले आफ्नो ब्याचका साथीहरूको लागि वर्कसप आयोजना गरेको भन्दै उनले कलेजमा पढुन्जेल मात्रै नभई आफ्नो त्यसपछिको करियरका लागि पनि टेक्ससले योगदान गरेको बताइन् । उनका अनुसार टेक्सस आउने विद्यार्थीलाई गुनासो गर्ने कुनै पनि मौका कलेजले दिँदैन ।

कार्यक्रमका अन्य वक्ताहरूले समेत टेक्सस छनोट गरेर आएका विद्यार्थीको यो उत्कृष्ट छनोट हुने भन्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बिदाइ हुने विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो भने विद्यार्थीहरूले आफ्ना विविध प्रतिभाहरू मार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
उक्त कार्यक्रमको फोटो फिचर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।