काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता भएको छ। संस्थाले आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा बुधवार डिड्यास योकोसो कन्सल्टेन्सीको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना भन्दा बढिले रक्तदान गरेको फेकनका महासचिव राजु निरौलाले जानकारी दिए।
कोभिडका कारण अस्पतालहरूमा रगत अभाव देखिएको र कतिपय अवस्थामा रगत अभावकै कारण बिरामीको ज्यान नै जाने अवस्था समेत देखिएकाले त्यसको समाधानमा भूमिका खेल्नका लागि रक्तदान गरेर सहयोग गरेको भन्दै संस्थाले सहभागीलाई प्रशंसा पत्र समेत वितरण गरेको थियो ।
कार्यक्रममा फेकन एक छ भन्ने सन्देश दिन अनि आफ्नो संस्थाको जन्मदिन मनाउनका लागि फेकनका सदस्य व्यवसायीहरू र पदाधिकारीहरूको साथमा फेकनका संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्ष पनि उपस्थित भएका थिए। कार्यक्रममा बोल्दै फेकनका संस्थापक अध्यक्ष मान बहादुर राईले वार्षिक उत्सव मनाउन यस्ता सकारात्मक कार्य हुनु खुसीको कुरा भएको बताए। साथै भविष्यमा पनि एक हुँदै फेकनले यस्ता कार्यक्रमहरू आयोजना गर्ने उनको विश्वास थियो।
फेकनका निवर्तमान अध्यक्ष युवराज कटुवालले फेकनलाई अझै सशक्त र एकजुट बनाएर लानुपर्ने धारणा राखे। औपचारिक कार्यक्रम समापन गर्दै फेकन अध्यक्ष बासु नेपालले फेकनले शैक्षिक परामर्श व्यावसायिकहरूलाई अप्ठ्यारो पर्दा जहिले पनि सहयोग गरेको र अझै पनि गर्न तयार रहेको धारणा राखे। साथै रक्तदान लगायतका परोपकारी कार्यहरूलाई समेत संस्थाले निरन्तरता दिने उनको भनाइ थियो।
कार्यक्रम सञ्चालक तथा फेकन महासचिव निरौलाका अनुसार वार्षिक उत्सवकै अवसरमा भोलि अनाथ बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम पनि फेकनले राखेको छ।
मात्र एजुकेसन फेकनको आजको कार्यक्रमको अफिसियल मिडिया पार्टनरका रूपमा रहेको थियो।
तपाईँ यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ ।