Matra Education आइतबार, साउन १० २०८३

भव्य कार्यक्रमका बिच अरुण ज्योति स्कुलको २७ औँ वार्षिकोत्सव सम्पन्न

भव्य कार्यक्रमका बिच अरुण ज्योति स्कुलको २७ औँ वार्षिकोत्सव सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, चैत्र १२ २०७८


काठमाडौँ- जोरपाटी स्थित अरुण ज्योति स्कुलले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ। शनिबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्टता र सफलताको वर्षको रूपमा २७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

शान्ति समाजका केन्द्रिय महासचिव तथा विद्यालयका अभिभावक राम प्रसाद बरालको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अन्य अतिथिहरूका साथमा अरुण ज्योति स्कुलका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चालिसेले अरुण ज्योति विद्यालयले सफलताका अझै सयौँ वर्ष पार गरोस् र नगरपालिका कै उत्कृष्ट विद्यालय बन्न सकोस् भन्ने शुभकामना दिए। मोबाइल फोन वर्तमान समयको आवश्यकता भए पनि यसको दुरुपयोग बढ्दै गएको तिर ध्यान दिनुपर्ने भन्दै उनले उचित निगरानी गरिनुपर्ने धारणा राखे। त्यस्तै प्याब्सनले सोही कार्यक्रममा देखाएको सडक नाटकको प्रशंसा गर्दै यस्ता नाटक गरे चेतनाको स्तर बढ्ने हुँदा नगरपालिका सहयोग गर्न तयार रहेको उनले बताए। पब्जी लगायतका मोबाइल गेमहरू नियन्त्रण गर्नुपर्ने तिर पनि उनको विशेष जोड थियो।

प्याब्सन गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष दुर्गानाथ शिवकोटिले सबै विद्यालय एकजुट भई शिक्षाक्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्नुपर्ने धारणा राखे। अहिलेको शिक्षा कसैको दबाबमा परेर नभई स्वतन्त्र रूपमा आफ्नै मौलिक पद्धतिमा दिन पाउनुपर्ने उनको भनाइ थियो।

अरुण ज्योतिका प्रधानाध्यापक छेवाङ छेन्दर भुटियाले विद्यालयले धेरै पाइलट, डाक्टर र कलाकार जन्माई सकेको बताए। आफ्ना अभिभावकले जन्माएका सबै छोराछोरी आफ्ना पनि छोराछोरी भएको भन्दै विद्यालयले निरन्तर गुणस्तरीयता कायम राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। महँगा गाडी चढेर नभई हिँडेरै आएर पढाउने विद्यालय भएकाले धरातल कहिल्यै नभुल्ने उनको आशय थियो। विद्यालयलाई सफलताको २७ वर्षसम्म पुर्‍याएको चर्चा गर्दै गर्दा आफ्नी स्वर्गीय श्रीमतीको भूमिका सम्झिएर भावुक बनेका भुटियाले मन्तव्य राख्दै गर्दा सबैका आँखा रसाएका थिए। उनले विद्यालयलाई सफल बनाउनु आफू सँगै आफ्नी स्वर्गीय श्रीमतीको सपना भएको उल्लेख गरे।

कार्यक्रममा प्याब्सन गोकर्णेश्वरले जनचेतनामूलक नाटक प्रस्तुत गरेको थियो भने अरुण ज्योतिका विद्यार्थीले विभिन्न किसिमका मनोरञ्जनात्मक प्रस्तुतिहरू राखेका थिए। विद्यालयले विभिन्न क्रियाकलापहरूमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान र प्रतियोगितात्मक कार्यक्रममा विजेताहरूलाई मेडल र पुरस्कार वितरण पनि वितरण गरेको थियो।

कार्यक्रम अन्त्य गर्दै सभापति बरालले कार्यक्रम भव्य र सव्य भएको र आगामी दिनमा पनि अझै यस्ता कार्यक्रमहरू गर्दै जाने बताए।

उक्त कार्यक्रमको फोटोफिचर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड