काठमाडौँ- धापासीको त्रियोगमार्ग स्थित गोल्डेन बड्स एकेडेमीले स्पोर्ट्स मिट सम्पन्न गरेको छ । शुक्रवार धापासीको ग्रान्डी फुटसलमा आयोजित कार्यक्रम विविध खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।
गोल्डेन बड्स एकेडेमीकी प्रिन्सिपल रजनी मल्लको अध्यक्षता तथा प्रि-स्कुल ओलम्पिक कमिटीकी कोषाध्यक्ष यमुना मानन्धरको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
विद्यालयले नियमित गर्दै आएका क्रियाकलापहरू विगत २ वर्षदेखि कोभिडका कारण गर्न नपाएको हुँदा अब त्यसलाई पुनः निरन्तरता दिनका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा साना बालबालिकाहरूका लागि विभिन्न मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलकुदहरू गराइएको थियो।
कार्यक्रममा अभिभावकहरू माझ आफ्नो असली परिचय दिन विद्यालय सफल भएको छ। ‘गोल्डेन बड्स’ अर्थात् सुनौलो कोपिला नाममा सञ्चालित विद्यालयले साँच्चै कोपिला रुपी साना बालबालिकालाई उनीहरूको सुनौलो भविष्य तिर डोर्याइरहेको देखिएको थियो। त्यसका लागि साना साना बालबालिकाहरूले देखाएको गायन, नृत्य अनि खेलकुद कौशल पर्याप्त प्रमाण भएको प्रतीत हुन्थ्यो। शिशु कक्षा देखि कक्षा २ सम्मका बालबालिकाहरूको प्रस्तुति तारिफ योग्य रहेको थियो।
साना बालबालिकाहरूलाई प्रतिस्पर्धात्मक रूपमा ‘स्याक रेस’, ‘रिले रेस’, ‘बलुन रेस’, ‘रनिङ रेस’, ‘चकलेट रेस’, ‘बलुन ब्लास्ट’ लगायत थुप्रै खेलहरू खेलाएको विद्यालयले अभिभावकहरूका लागि समेत विशेष व्यवस्था गरेको थियो। भागदौड पूर्ण व्यस्त दैनिकीको कारण अभिभावक र बालबालिकाको बढेको दुरी कम गर्नका लागि भन्दै विद्यालयले अभिभावक बालबालिकाले संयुक्त रूपमा खेल्ने विभिन्न खेलहरू राखेको थियो। खासगरी अभिभावकले आफ्ना छोराछोरी बोकेर दौडने दौड प्रतियोगिता, अभिभावक र विद्यार्थीको एक-एक खुट्टा सँगै बाँधेर हिँड्नुपर्ने प्रतियोगिता र अभिभावकले आफ्ना बालबालिकालाई कपडा लगाएर छिटो तयार गर्ने लगायतका प्रतिस्पर्धाहरू कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेका थिए।
कार्यक्रम पछि मात्र एजुकेसन सँग कुरा गर्दै गोल्डेन बड्स एकेडेमीकी प्रिन्सिपल रजनी मल्लले बालबालिकाहरूको शारीरिक, मानसिक लगायत सर्वपक्षीय विकासका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिइन्। विगत २ वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएकाले विद्यालयको नियमित शैक्षिक क्यालेन्डर प्रभावित हुनुका साथै बालबालिकाहरू बढी ‘प्यासिभ’ भएकाले उनीहरूलाई पुनः सक्रिय गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य भएको उनको भनाइ थियो। पहिलो पटक विद्यालयले अभिभावक बोलाएर कार्यक्रम गरेको भन्दै बालबालिकाले विद्यालय भन्दा बाहिर पनि धेरै कुरा सिकुन् र अभिभावकको अगाडी विभिन्न प्रस्तुति दिन सकुन् भन्नका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताइन्। प्रि-स्कुल तहमा खेलकुदका गतिविधिहरू कम हुने हुँदा केही फरक गर्नका लागि पनि गोल्डेन बड्सले कार्यक्रम आयोजना गरेको उनको भनाई थियो।
मात्र एजुकेसनले कार्यक्रममा उपस्थित अभिभावकहरूको पनि धारणा बुझ्ने प्रयास गरेको थियो। कक्षा नर्सरीका युग लामाकी अभिभावक कमला छन्त्यालले समग्रमा कार्यक्रम प्रभावकारी लागेको प्रतिक्रिया दिइन्। बालबालिकाहरूलाई विद्यालय भवनको चार पर्खाल भन्दा बाहिर ल्याएर विभिन्न क्रियाकलाप सहित उत्प्रेरणा दिने काम विद्यालयले गरेको उनको भनाइ थियो। छन्त्यालका अनुसार बालबालिकाहरूलाई यस्ता कार्यक्रमले आफू पनि अगाडि बढ्ने र अरूभन्दा राम्रो गर्दै पुरस्कार प्राप्त गर्ने चाहना प्रदान गर्छ। उनले अभिभावक र बालबालिकालाई सँगै खेलाइएको खेल आफूलाई बढी मन परेको पनि बताइन्।
त्यस्तै शिशु कक्षामा पढ्ने हृदय श्रेष्ठका अभिभावक हरिकृष्ण श्रेष्ठले कार्यक्रमले मनोरञ्जनका साथै अभिभावकलाई आफ्नो बच्चाको शैक्षिक स्तर र खेलकुद प्रतिको रुचि पत्ता लगाउन सहयोग गरेको बताए। समग्रमा सबै गतिविधि आफूलाई उत्कृष्ट लागेको भन्दै उनले कार्यक्रमले बालबालिकालाई आपसमा मिल्ने, घुलमिल हुने र सामाजिक बन्ने अवसर प्रदान गरेको बताए। खेलकुदले पनि शिक्षा प्रति बालबालिकाको रुचि बढ्ने उनको धारणा थियो।
विद्यालयले कार्यक्रममै विभिन्न प्रतिस्पर्धात्मक खेलहरूमा विजय हासिल गर्ने विद्यार्थी तथा अभिभावकहरूलाई मेडल, प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरेको थियो।
गोल्डेन बड्स एकेडेमी पछिल्लो समय आफ्नो क्षेत्रमा अत्यधिक विद्यार्थी तथा अभिभावकहरूले रुचाएको प्रि- स्कुलहरूमा पर्दछ।
(तपाईँ यहाँ क्लिक गरेर केही समयपछि उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ। )