Matra Education आइतबार, साउन १० २०८३

उत्कृष्ट प्रस्तुतिहरू सहित शुभकामना स्कुलको ट्यालेन्ट सो कार्यक्रम सम्पन्न

उत्कृष्ट प्रस्तुतिहरू सहित शुभकामना स्कुलको ट्यालेन्ट सो कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र ३० २०७८


काठमाडौँ- गोकर्णेश्वरको उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले ‘ट्यालेन्ट सो’ सम्पन्न गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले आफ्ना विद्यार्थीहरूको विविध सिर्जनात्मक प्रस्तुतिहरू सहित कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना स्कुलकी प्रिन्सिपल सुमित्रा धिमालको अध्यक्षता र गोकर्णेश्वर नगरपालिका वडा न ४ का वडा सदस्य जयराम महतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा शुभकामना स्कुलका अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी र अन्य शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

लोप हुँदै गइरहेको संस्कृति बचाउन स्थानीय भेसभुसामा विद्यार्थीहरूलाई प्रस्तुत गरेर पछिल्लो पुस्तामा आफ्नो संस्कृति र त्यसभित्र रहेको अनेकतामा एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, फेसन सो लगायतका विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रम मार्फत शुभकामना स्कुलले आफ्नो भित्री गुणस्तर अभिभावकहरू समक्ष प्रस्तुत गरेको छ। परीक्षा सकेको केही दिनमै राखिएको कार्यक्रम तयारीको अभावमा गरिएको भनिए पनि बालबालिकाको उमेर र स्तर भन्दा निकै माथिल्लो तहको देखिन्थ्यो। पहिलो पटक आफ्ना विद्यार्थीलाई औपचारिक कार्यक्रमको मञ्चमा प्रस्तुत गरेको विद्यालयले प्रस्तुतिहरू भने अब्बल दर्जाको देखाएको थियो। खासगरि साना बालबालिकाहरूको निर्दोष अनि मधुर स्वरमा स्वागत गीत, कक्षा युकेजीका ४ बर्सिया छात्राहरू आस्था तामाङ र सुविज्ञा भण्डारीको आफ्नो परिचय सहितको लोभलाग्दो अङ्ग्रेजी मन्तव्य, प्रत्येक कक्षाका विद्यार्थीहरूको स्तरीय नृत्य आदि कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेका थिए।

स्वागत मन्तव्य राख्दै विद्यालयका सञ्चालक प्रकाश अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिए। नयाँ वर्षको शुभकामना दिँदै उनले आउने वर्षहरूमा सबै नेपालीको शैक्षिक प्रगति हुने विश्वास व्यक्त गरे। आफ्ना विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि विद्यालय सधैँ सचेत रहेको भन्दै उनले विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले कार्यक्रममा आमन्त्रण गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए। आफू शुभकामना स्कुललाई हरक्षण नजिकबाट नियालिरहेको हुँदा अभिभावकहरूले ढुक्क भएर विद्यालय प्रति विश्वास गर्न सक्ने उनको भनाइ थियो। विद्यालय सञ्चालक प्रकाश अधिकारीको शैक्षिक अनुभव र क्रियाशीलताले विद्यालयलाई छोटो समयमै उचाइमा पुर्‍याएको भन्दै विद्यालय छोडेर अन्त जाने बालबालिका पनि अन्य विद्यालयमा टपर हुने धारणा राखे । खेलकुदका शिक्षकको विशेष प्रशंसा गरेका उनले विद्यालयको शैक्षिक विकासका लागि व्यक्तिगत र वडाको तर्फबाट साथ सहयोग गर्न तयार रहेको पनि बताए।

कार्यक्रममा बोल्ने अभिभावकहरूले छोटो समयमै विद्यालयले उल्लेखनीय प्रगति गरेको साझा धारणा राखे। संरक्षक/ सञ्चालक शैक्षिक पृष्ठभूमि बाट आएको हुँदा पछि ठुलो प्रगति गर्ने विश्वास लिएका उनीहरूले विद्यालयले बालबालिकाहरूलाई सानै उमेरमा दक्ष बनाएको हुँदा आफूहरू सन्तुष्ट रहेको पनि बताए। ।

कार्यक्रमको अध्यक्षता गरेकी प्रिन्सिपल धिमालले उपस्थित सबैलाई धन्यवाद दिइन्। बालबालिकाहरूको आत्मविश्वास बढाउनका लागि कार्यक्रम राखिएको हुँदा पर्याप्त तयारी नहुँदा पनि राम्रो भएको उनको भनाई थियो । आफ्ना शिक्षिकाहरूको मेहनतले यतिसम्म हुन सकेको भन्दै बालबालिकाहरूलाई कार्यक्रम मार्फत संस्कृति बुझ्ने र फेसन चिन्ने अवसर प्राप्त भएको बताइन् । विभिन्न समुदायको प्रतिनिधित्व गर्दै नयाँ कपडामा सजिएका बालबालिकाहरूको मुहारको खुसी नै विद्यालयको सफलता भएको भन्दै उनले साना साना कुराहरूले बालबालिकालाई ठुलो खुसी दिने धारणा राखिन्। विद्यालयले व्यवहारिक ज्ञानलाई सधैँ प्राथमिकता दिने भन्दै उनले कार्यक्रम समापन गरिन्।

विद्यालय साँचो अर्थमा मन्टेश्वरीको उद्देश्य अनुसारका क्रियाकलापहरू गर्न सक्षम छ र आफ्ना विद्यार्थीहरूको व्यक्तित्व विकासका विविध आयामहरू प्रति सचेत छ भन्ने सन्देश कार्यक्रमले दिएको थियो।

उक्त कार्यक्रमको फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड