Matra Education आइतबार, साउन १० २०८३

माफको एसइई सम्मान कार्यक्रम सम्पन्न

माफको एसइई सम्मान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र १ २०७९


काठमाडौँ- निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच माफले आफ्ना सदस्य विद्यालय बाट एसइई उत्तीर्ण विद्यार्थी तथा अध्यापनरत शिक्षकहरूलाई सम्मान गरेको हो। माफका अध्यक्ष प्रज्वल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबि कटुवालको प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै काठमाडौँ प्याब्सनका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ विशेष अतिथिका रुपमा रहेका थिए भने माफका पदाधिकारी, सदस्यहरु सहित विभिन्न सदस्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै माफकी उपाध्यक्ष ईसु गुरुङले माफले विगतमा पनि यस किसिमका कार्यक्रम गर्ने गरेको भएता पनि विगत ३ वर्ष देखि कोरोनाका कारण यस्तो कार्यक्रम गर्ने मौका नपाएकोमा दुख व्यक्त गरिन्। आगामी दिनमा माफले यस्ता कार्यक्रम गर्दै जाने भन्दै उनले सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना दिइन्।

त्यस्तै प्याब्सन काठमाडौँकी उपाध्यक्ष तथा माफकी पूर्व अध्यक्ष रिता राई दाहालले सम्मान पाउने दिन भएकाले विद्यार्थीका लागि महत्त्वपूर्ण दिन भएको उल्लेख गरिन् । उनले अब उच्च शिक्षा अध्ययनको लागि कलेज छान्ने तयारीमा विद्यार्थीहरू रहेको हुँदा कसैको लहलहैमा लागेर आफूले पढ्नै नसक्ने विषय छनोट नगर्न विद्यार्थीलाई सुझाव दिइन्।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि आरबि कटुवालले प्याब्सनले पुस्तकालय र आइटी विकासका लागि सम्झौता गरेको हुँदा छिटै दक्ष जनशक्ति उत्पादन गरिने जानकारी दिए। सम्झौता मार्फत छिट्टै पाँच/ पाँच हजारलाई तालीम दिने लक्ष्य रहेको उनको भनाइ थियो। शिक्षकहरूले पुरा जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्ति बढेको भन्दै उनले अब कुनै पनि विद्यालयमा पढाउने शिक्षकले चैत अगाडि विद्यालय छोड्छ भने त्यो विद्यार्थी माथिको अपराधका रुपमा आफूहरूले बुझ्ने बताए । यस्तो अपराध गर्ने छुट कसैलाई नभएको भन्दै उनले यो मुलुक डुबिसकेको हुँदा बनाउने जिम्मा विद्यार्थीहरूको भएको उल्लेख गरे। विदेशी शैक्षिक संस्थामा पाइने गुणस्तरको पढाइ नेपालमै पाइने हुँदा उनले भाँडा माझ्न नभई घुम्नका लागि विदेश जाने सोच विद्यार्थीहरूले बनाउनुपर्ने बताए।

कार्यक्रम समापन गर्दै माफका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रज्वल कोइरालाले सम्मानित हुने सबै विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूलाई बधाई तथा शुभकामना दिए। कक्षा ११ सुरु गरिसकेका विद्यार्थीले जिपिए हेरेर बस्ने नभई दह्रो इच्छाशक्ति लिएर अगाडी बढ्नुपर्ने उनको भनाइ थियो । सफल हुनको लागि मनोबल बढाउने र र मेहनत गरे अवश्य सफल भइने भन्दै उनले छोराछोरीलाई कलेज भर्ना गर्दिँदैमा आफ्नो दायित्व पुरा भएको नसम्झिन अभिभावकहरूलाई आग्रह गरे। कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले कार्यक्रम समापन गरे।

कार्यक्रमको फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड