काठमाडौँ- चुच्चेपाटि स्थित मनास्लु वर्ल्ड स्कुल/कलेजले रजत जयन्ती मनाएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच मनास्लुले स्थापनाको २५ औँ वर्ष (रजत जयन्ती ) मनाएको हो । उक्त अवसरमा कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेकाहरूलाई बिदाइ पनि गरेको थियो भने आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य श्रीराम लामिछाने, नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी प्रमुख चैतन्य सत्याल, गायक शम्भुजित बास्कोटा, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, सञ्चारकर्मी टिकाराम यात्री, नेसनल प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा, समाजसेवी रामजी अधिकारी विशेष अतिथिका रूपमा रहेका थिए । करिब ३०० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेको कार्यक्रममा मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर कुमार मोक्तान सहित बोर्ड अफ डाइरेक्टर, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो भने शिक्षा क्षेत्र सँग सम्बन्धित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा मनोरञ्जन दिनका लागि राष्ट्रिय कलाकारहरू हिमाल सागर, अस्मिता अधिकारी सहित नृत्य समूह वाइल्ड रिपर्ज तथा मनास्लु ब्यान्ड उपस्थित रहेका थिए।

शान्तिको सन्देश दिने उत्कृष्ट स्वागत नृत्य बाट सुरु भएको कार्यक्रम अवधिभर मनास्लुका विद्यार्थीहरूका प्रतिभाले भरिएका विभिन्न प्रस्तुतिहरू राखिएको थियो।

कार्यक्रमको उद्देश्य तथा सुची बारे जानकारी गराउँदै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले रजत जयन्तीमा उपस्थित सबैलाई स्वागत गरे। मनास्लु भन्ने नाम सुनेको धेरै नभएको भए पनि रजत जयन्ती कसरी भन्ने प्रश्न हुनसक्ने भन्दै उनले सन् १९९८ मा भुवनेश्वरी पब्लिक स्कुलको नामबाट खुलेको स्कुल प्राक्सिस इन्टरनेसनल एकेडेमी हुँदै भर्खरै मनास्लु वर्ल्ड स्कुल/ कलेज बन्न सफल भएको जानकारी दिए । उनले आजसम्मको साथ सहयोगका लागि सम्बद्ध सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यो निरन्तर जारी रहने अपेक्षा गरेको बताए। कलेजले बाचा गरेअनुसार आइएसो २००८: २०१५ बाट प्रमाणित हुन सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।
कलेजले रजत जयन्तीको अवसर पारेर वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, एपिवान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्री, क्रिकेट खेलाडी पारस खडका, मानव सेवा आश्रमका रामजी अधिकारी र शिक्षाकर्मी ऋतुराज सापकोटालाई मनास्लु विशेष सम्मान प्रदान गरेको छ। त्यस्तै मनास्लु वर्ल्ड स्कुलमा कार्यरत सर्वोत्कृष्ट पाँच जना शिक्षक/ शिक्षिका, उत्कृष्ट नतिजा प्राप्त गर्ने ७ जना कक्षा १२ का विद्यार्थी तथा हाल कक्षा १२ अध्ययनरत १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा १२ लाई प्रतिनिधित्व गर्दै नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेकी फरिन बानुले मनास्लु वर्ल्ड कलेज छनोट गरेर विद्यार्थीहरूले सही निर्णय गरेको बताइन् । यस किसिमका औपचारिक कार्यक्रम आयोजना गरेर स्वागत तथा बिदाइ गर्ने मनास्लुको स्थापनाकाल देखिकै संस्कार भएको भदै उनले आगामी १ वर्ष कक्षा ११ अध्ययनरत विद्यार्थीका लागि जीवनको सुनौलो पल हुने उल्लेख गरिन् । मनास्लुले भोलिका लागि सक्षम जनशक्ति उत्पादन गर्ने भन्दै उनले आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्न तयार रहन पनि सबैलाई आग्रह गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री मोदीले रजत जयन्ती मनाएकोमा मनास्लुलाई बधाई तथा शुभकामना दिए । कलेजमा अध्ययनरत विद्यार्थीहरूको सुखद भविष्यको कामना गरेका उनले विभिन्न क्षेत्रका पाँच जना सम्मान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। यसरी सम्मान गर्नुको उद्देश्य आफ्ना विद्यार्थीलाई उत्प्रेरणा दिनु पनि हुनसक्ने भन्दै उनले कार्यक्रम कलेजका लागि इतिहास बन्न सफल भएको उल्लेख गरे । आफू विद्यार्थी राजनीति बाट आजको ठाउँसम्म आएको स्मरण गर्दै उनले सङ्घर्ष गरेर सफल हुन सन्देश दिए। राम्रो काम गरेर गए भौतिक रूपमा नरहे पनि अमर बन्न सकिन्छ भन्ने सोचेर लाग्न उनले सबै विद्यार्थीलाई अपिल गरे ।

कार्यक्रममा बोल्ने अन्य सबै अतिथिहरूले मनास्लुले लोभलाग्दो प्रगति गरेको भन्दै आगामी दिनमा अझै प्रगति गर्नका लागि शुभकामना दिए।
मनास्लुका विद्यार्थीको सुन्दर प्रस्तुतिहरू सहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो।
यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सकिन्छ ।