काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को यही वैशाख २७ गते हुने निर्वाचनका लागि हालका कोषाध्यक्ष तथा क्यानडा/अमेरिका विभाग प्रमुख दिपेन्द्र पोख्रेलले महासचिव पदका लागि उम्मेदवारी दिएका छन्। चालु कार्यकालमा सफल कोषाध्यक्षको छवि बनाएका उनले संस्थालाई अझ सबल, पारदर्शी र सदस्यमैत्री बनाउन दृढ योजना सहित उम्मेदवारी घोषणा गरेका हुन्। पोखरेलले हिजो भएको मनोनयन दर्तामा महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पोख्रेलले हालै सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका कामहरूलाई विस्तारमा उल्लेख गर्दै आफूले कोषाध्यक्षको रूपमा संस्थालाई घाटाबाट नाफातर्फ उन्मुख गराएको बताएका छन्। उनका अनुसार उनले कार्यभार सम्हाल्दा स्थापना गरिएको रु. ३० लाखको अक्षय कोष संस्थाको दीर्घकालीन आर्थिक सुरक्षाको आधार बनेको छ। त्यस सँगै सम्पूर्ण सदस्यहरूको स्वास्थ्य जीवन बिमा गराइएको र अहिले उक्त बिमा अक्षय कोषबाट प्रतिस्थापन गरिएको छ। पोख्रेलले आफ्नो नेतृत्वमा शैक्षिक कर्जा सहजीकरण, प्रत्येक महिनाको आय-व्यय सदस्यहरूले हेर्न सक्ने गरी आर्थिक प्रणालीको डिजिटलिकरण र झन्डै ४५ लाख बराबरको कोष निर्माण गरिएको उल्लेख गरेका छन्।
उनले कोषाध्यक्षका रूपमा यो कार्यकालमा करिब १ करोड ९० लाख रुपैयाँ बराबरका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गराएको दाबी गरेका छन्। ती सबै कार्यक्रमहरूमा कुनै पनि विभाग वा समितिमा आर्थिक अभाव हुन नदिइएको र सबै पक्ष सन्तुष्ट हुने गरी व्यवस्थापन गरिएको उनको भनाई छ। स्वास्थ्य पक्षलाई ध्यान दिँदै नेपाल ल्याबसँगको सहकार्यमा निःशुल्क होल बडी चेकअप तथा सिद्धि पोलिक्लिनिकमा प्रिभिलेज चेकअपको सुविधा उपलब्ध गराइएको उनको दाबी छ। इतिहासमै पहिलो पटक प्रदेश तथा जिल्ला समितिहरूलाई आर्थिक सहयोग प्रदान गरिएको र भूकम्प पीडितको लागि प्रधानमन्त्री राहत कोषमा रु. ५ लाख सहयोग गरिएको पनि उनले स्मरण गराए।
क्यानडा र अमेरिका सम्बन्धी विश्वविद्यालयहरूका लागि तीन–तीन पटक एजेन्ट सेमिनार आयोजना गरिनुका साथै युएसइएफ नेपालको सहकार्यमा अमेरिका अध्ययनसम्बन्धी तालिमसमेत सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए। यस्ता कामहरूले संस्थाको व्यावसायिक पहिचान र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा मद्दत पुगेको उनको भनाइ छ।
महासचिवको उम्मेदवारी सँगै पोख्रेलले आफ्नो भावी कार्यदिशा समेत स्पष्ट पारेका छन्। उनले संगठन निर्माण र व्यवस्थापनमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्। वर्तमान केन्द्र र प्रदेश समितिहरूलाई चलायमान बनाउँदै थप नयाँ प्रदेश तथा जिल्ला समितिहरूको गठन गरिने योजना छ। फेकनको नेतृत्वमा कथित संस्था वा कम्पनीको महासंघको सट्टा वास्तविक, व्यावसायिक र समावेशी महासंघ निर्माण गर्ने उनको प्रस्ताव छ।
उनले महासचिवको जिम्मेवारी अन्तर्गत रहने सचिवालयलाई प्रभावकारी, सदस्यमैत्री र छरितो बनाउन विशेष पहल गर्ने बताएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरू सँग प्रभावकारी तथा सुमधुर सम्बन्ध कायम गरिने र फेकनको नेतृत्वमा पहिलो पटक भव्य शैक्षिक मेला ‘फेकन एजुकेसन फेयर’ आयोजना गरिने उनले उल्लेख गरेका छन्।
संस्थागत एकतालाई प्राथमिकतामा राख्दै पोख्रेलले सबै पक्षलाई समेट्ने र समान अवसर दिने वातावरण निर्माण गर्ने योजना अघि सारेका छन्। उनले हाल शैक्षिक परामर्श क्षेत्रमा देखिएको वैदेशिक हस्तक्षेप तथा अनियन्त्रित आइटी प्लेटफर्महरूको अनावश्यक प्रभावलाई रोक्न संघको नेतृत्वद्वारा सक्रिय पहल गरिने बताएका छन्।
आफ्नो घोषणामा भनेका छन् , “फेकनलाई पारदर्शी, प्रभावकारी र सदस्य–मैत्री बनाउने मेरो प्रतिबद्धता हो। जिते काम गर्छु, हारे भाग्दिन।”